आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचित

आइतबार, कार्तिक १५ २०८३

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबिएएन) को नयाँ अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्वाचित भएका छन्।

एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दीपेश लम्साल निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं चयन भएका छन्।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष थकालीले बैंकिङ क्षेत्रका समसामयिक मुद्दामा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल नेपालमा १७ वटा विकास बैंक सञ्चालनमा रहेका छन्।