काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जनाएको छ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिन लागिएको हो।
आयोजनाका अनुसार वर्ग १ अन्तर्गत कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, वर्ग २ अन्तर्गत मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।
वर्ग ३ अन्तर्गतका बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
त्यसैगरी, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ।
सवारीसाधनअनुसार शुल्क विवरण
| सवारीसाधनको वर्ग | काठमाडौं प्रवेश | काठमाडौं बाहिरिँदा |
|---|---|---|
| वर्ग १ : कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस | रु. ६५ | रु. ६० |
| वर्ग २ : मिनी बस तथा मिनी टिपर/ट्रक | रु. ११५ | रु. ८० |
| वर्ग ३ : बस तथा ट्रक | रु. २६० | रु. २०० |
| वर्ग ४ : मल्टी एक्सल ट्रक तथा भारी उपकरण | रु. ६०० | रु. २५० |