आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अर्नब चक्रवातको प्रभाव कमजोर, देशभर मौसममा सुधार हुँदै

आइतबार, कार्तिक १५ २०८३

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। यसको प्रभाव कम भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ। अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार तराईका क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। त्यसैले बिहानको समयमा यात्रा गर्दा तथा दैनिक गतिविधि सञ्चालन गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।