आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन

आइतबार, कार्तिक १५ २०८३

सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो क्षेत्रमा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरूलाई उद्धार गर्न हेलिकप्टरको माग गरिएको छ।

डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किने क्रममा पर्यटकहरू हिउँमा फसेका हुन्। शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका बताइएको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पर्यटकहरू समस्यामा परेका हुन्।

स्थानीय गाइडका अनुसार हिमपातका कारण उक्त क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई अघि नबढ्न सचेत गराएका थिए। तर, स्थानीयको सुझाव बेवास्ता गर्दै उनीहरू यात्रा अघि बढाएपछि हिउँमा फसेको जानकारी प्राप्त भएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन्।

स्थानीयवासीले हिमाली क्षेत्र पार गर्न कठिन हुने जानकारी गराउँदागराउँदै पनि उनीहरू अघि बढेको र त्यसपछि सम्पर्कविहीन भएको उनले बताइन्। पर्यटकहरूको अवस्था र उद्धार प्रयासबारे थप विवरण आउन बाँकी छ।