काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा जाने भएका छन्।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको जानकारी दिए।
उनले भ्रमणको निश्चित मिति भने सार्वजनिक गरेनन्। ‘महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाँदै छ,’ खरेलले भने।
त्यस्तै, बैठकमा मधेश प्रदेश तथा विभिन्न जिल्लामा हुन नसकेका पार्टी अधिवेशनबारे तयार पारिएको प्रतिवेदन पनि पेस भएको उनले जानकारी दिए।
सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित कार्यदलले उक्त प्रतिवेदन सचिवालय बैठकमा बुझाएको हो। प्रतिवेदन अध्ययन गरेपछि पार्टीले आवश्यक निर्णय तथा कदम चाल्ने प्रवक्ता खरेलले बताए।