सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.१३ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) र स्वपुँजीमा प्रतिफल (आरओई) मा समेत सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको ईपीएस बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको थियो । त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) गत आवको ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत पुगेको छ । प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि १९ रुपैयाँ २७ पैसाबाट बढेर २७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.४२ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा समेत वृद्धि भएको छ । बैंकको निक्षेप संकलन २.०८ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब १० करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २ खर्ब ४८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यसैगरी, बैंकको कर्जा प्रवाह १.७८ प्रतिशतले बढेर १ खर्ब ९९ अर्ब ३६ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा प्रवाह १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद कर्जा तथा सापटी प्रवाह पनि १.६९ प्रतिशतले वृद्धि भई २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वित्तीय विवरणअनुसार कर्जाको गुणस्तरमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालु आवको पहिलो त्रैमासमा घटेर २.८६ प्रतिशतमा सीमित भएको छ । बैंकको आधार दर (बेस रेट) पनि ५.५९ प्रतिशतबाट घटेर ४.६० प्रतिशत कायम भएको छ । त्यस्तै, कोषको लागत (कस्ट अफ फन्ड) ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेड दर गत आवको ३.६५ प्रतिशतबाट घटेर ३.१७ प्रतिशत कायम भएको छ । असोज मसान्तसम्म बैंकको कर्जा–निक्षेप अनुपात ७९.२३ प्रतिशत रहेको छ ।
सानिमा बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.४७ गुणा रहेको छ ।