काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको द्रुतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताएका छन्।
राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै देउवाले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्ने उल्लेख गरे। ‘यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित् गर्न राससले पनि आफ्ना सेवालाई थप चुस्त बनाउन सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ’ उनले भने
राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चारमाध्यममार्फत देशवासीलाई सुसूचित गर्ने काममा अब्बलरूपमा आफूलाई स्थापित गर्न सक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
रासस नेपालका आमसञ्चारमाध्यमलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था हो । विसं २०१८ मा स्थापना भई नेपालका सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनादेखि नै नेपाली र अङ्ग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्वीर उपलब्ध गराउँदै आएको छ । साथै हालै मात्र राससले टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरु गरेकोे छ ।
प्रधानमन्त्री देउवाले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि नागरिकलाई सूचना दिनु भनेको उनीहरुको मौलिक हकको सम्मान गर्नु हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ । सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरुको अवसर एवं ज्ञानको स्रोत पनि हो । त्यसैले कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर राससले काम गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न कटिबद्ध रहेको उल्लेख गर्दै उनले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको बताए ।
सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गर्नुपर्ने उनको भनाइ थियो । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव हुने बताउँदै देउवाले यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् भनी शुभकामना व्यक्त गरे।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकास मन्त्री मेटमणि चौधरी, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, उच्च पदाधिकारीलगायतको उपस्थिति थियो ।