काठमाडौं । आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने यस पर्वमा विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न नयाँ सामग्री खरिद गर्ने परम्परा रहेको छ ।
धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यस दिन खरिद गरिएका सामग्री राखेर लक्ष्मी पूजा गर्दा माता लक्ष्मी प्रसन्न भई घरमा धनसम्पत्ति र समृद्धिको बास हुने जनविश्वास छ ।
धनतेरसका अवसरमा श्रद्धालुहरूले पवित्र मन र शुद्ध चित्तले पूजा आराधना गर्नुका साथै लक्ष्मी र गणेशका मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन छ । धार्मिक मान्यताअनुसार कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ । आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति वा तस्बिर खरिद गर्न पनि सकिने विश्वास छ ।
यस दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ । सम्भव भएसम्म चाँदीका सामग्री खरिद गर्नु शुभ मानिने धार्मिक विश्वास रहेको छ । धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने परम्परा पनि छ ।
त्यस्तै, यस दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउनु पनि शुभ मानिन्छ । यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुनुका साथै मानसिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा लिइन्छ । यसै दिनदेखि दीपावलीको धार्मिक उत्सव सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिने गरिन्छ ।