काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको शान्ति–सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन र नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग देशको पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका हुन्।
चाडपर्वको समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायले अपनाएका तयारी तथा व्यवस्थापनबारे जानकारी लिँदै प्रधानमन्त्री शाहले सम्भावित सुरक्षा चुनौतीप्रति उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन, नागरिकको जीउधनको सुरक्षामा कुनै सम्झौता नगर्न र शान्ति–सुरक्षा कायम राख्ने कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
नागरिकले निर्धक्क र सुरक्षित वातावरणमा चाडपर्व मनाउन पाउने अवस्था सुनिश्चित गर्न सुरक्षा निकायलाई थप जिम्मेवार र सक्रिय भएर काम गर्नसमेत प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।