काठमाडौँ । नेपाली फिल्म ‘पाँच पाण्डव’ लाई लिएर उत्पन्न भएको अन्यौल परिस्थितिले निकास पाएको छ । प्रदर्शनकै विषयमा अन्यौल हुने किसिमको खबर सार्वजनिक भएसँगै सञ्चार मन्त्रालयमा आज बसेको वैठकले केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ । फिल्म ‘पाँच पाण्डव’ का प्रतिनिधि र केन्द्रीय चलचित्र जाँच समितिको उक्त वैठकमा जाँच पास भएका फिल्मलाई कुनै बहानामा पनि नरोक्ने नहुने ठहर गर्दै निर्बाध रूपमा प्रदर्शन गर्ने वातावरण मिलाउने निर्णय गरेको हो ।
चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार बैठकमा मुख्यतया तीनवटा विषयमा छलफल भएको थियो । पहिलो समितिले प्रदर्शन अनुमति दिइसकेपछि उक्त फिल्म प्रदर्शन गर्ने अधिकार फिल्मकर्मिमा हुने, दोस्रो फिल्मकर्मीको सिर्जना र प्रदर्शन गर्ने अधिकारको राज्यले पूर्ण रूपमा संरक्षण गर्ने र तेस्रो फिल्मकर्मीले आफ्नो दायित्व बोध गर्नुपर्ने विषयमा छलफल भएको सदस्य पण्डितले बताए ।
‘आगामी दिनका लागि पनि एउटा नजिर बसेको छ, जाँच समितिले हेरेर पास गरेपछि समितिको विश्वसनीयता तथा गरिमा जोगाउनु राज्यको दायित्व हुने भएकाले अन्य बहानामा फिल्मको प्रदर्शन रोक्न नपाईनेमा सबै स्पष्ट भएको हुनुपर्छ । यसले आगामी दिनमा केन्द्रीय जाँच समितिले गरेका निर्णयलाई बलियो बनाउँछ’, सदस्य पण्डितले भने ।
उनले राज्यले फिल्मकर्मीको सिर्जनात्मक अधिकार संरक्षण गर्ने विषयमा जिम्मेवार र स्पष्ट रहेको बताए । सोही कारण फिल्म प्रदर्शन रोक्नु समस्याको समधान नहुने ठहर गर्दै सञ्चार मन्त्रीले पनि फिल्म सम्बन्धी जाँच समितिले गरेको निर्णयनै अन्तिम हुनेमा जोड दिएको बताए ।
‘सञ्चार मन्त्री ज्युले पनि फिल्म प्रदर्शन रोक्नु कला माथिको प्रहार हुने भएकाले त्यसलाई निर्वाध रुपमा प्रदर्शन गर्न दिनुपर्नेमा आफ्नो स्पष्ट विचार राख्नु भएको छ, यसले आगामी दिनमा सिर्जनात्मक स्वतन्त्रतालाई बलियो बनाउँछ’, उनले भने ।
साथै, सदस्य पण्डितले राजनीतिक, धार्मिक जस्ता गम्भीर विषयमा बनाइएका फिल्मको प्रचारप्रसारमा निर्माण पक्ष गम्भीर हुनुपर्ने बताए । ‘हामीले फिल्म हेरेर त्यसलाई प्रदर्शनका लागि अनुमति दिएका हौँ, किनकि फिल्ममा प्रदर्शन रोक्नुपर्ने कुनै कारण छैन । यी सिर्जना भएका विवादहरू फिल्मको प्रचारप्रसारका कारण भएका हुन्, त्यसैले यस्ता विषय उठान गरिएका फिल्मको प्रचारमा निकै ध्यान दिनुपर्छ । यो अन्य निर्देशक र निर्माताका लागि पनि सिकाइ होला’, उनले भने । उनले जाँच समितिले दिएको अधिकार प्रयोग गरेर निर्माताले घोषणा गरेकै मितिदेखि फिल्म निर्वाध रुपमा प्रदर्शन गर्न सक्ने बताए । ‘पाँच पाण्डव’ मा धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै चौतर्फी विरोध भएको थियो ।
विशेषगरी हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीलाई बारमा नचाइएको लगायतका दृश्यहरू आपत्तिजनक रहेको भन्दै विभिन्न धार्मिक सङ्घ–संस्थाहरूले बिरोध जनाएका थिए ।
फिल्ममा कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल लगायतको मुख्य भूमिका रहेको छ । सुशील पौडेलको लेखन रहेको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।
भेषराज कार्की,नेपाल न्यूज बैंक