ग्राहकहरुको लागि यस्तो छ, भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने तरिका
काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै बैंकिङ सेवा पनि परम्परागत शैलीबाट डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेको छ । ग्राहकले बैंकिङ सेवाका लागि शाखासम्म पुग्नुपर्ने, लामो प्रक्रिया पूरा गर्नुपर्ने र भौतिक कार्ड बोकेर हिँड्नुपर्ने बाध्यतालाई प्रविधिले क्रमशः सहज बनाउँदै लगेको छ । यही परिवर्तनलाई आत्मसात् गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ । बैंकले यही असोज २९ गतेदेखि ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको हो।
यससँगै अब नबिल बैंकका योग्य ग्राहकले आफ्नो मोबाइलमै क्रेडिट कार्ड प्राप्त गर्न र दैनिक कारोबारमा प्रयोग गर्न सक्नेछन् । परम्परागत क्रेडिट कार्ड प्राप्त गर्न आवश्यक पर्ने कागजी प्रक्रिया तथा विभिन्न औपचारिक झन्झटबिना नै एनबैंक एपमार्फत कार्डका लागि आवेदन दिन र प्राप्त गर्न सकिने व्यवस्था बैंकले गरेको छ।
बैंकिङ सेवालाई प्रविधिमैत्री, सरल र ग्राहकको पहुँचमा पुर्याउने उद्देश्यसहित ल्याइएको यो सेवाले डिजिटल भुक्तानीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी दैनिक किनमेल तथा अन्य भुक्तानीका लागि अब भौतिक क्रेडिट कार्ड साथमा राख्नुपर्ने बाध्यता रहने छैन।
किन ल्यायो नबिल बैंकले भर्चुअल क्रेडिट कार्ड ?
पछिल्लो समय डिजिटल भुक्तानीप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा अनलाइन कारोबार दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन् । ग्राहकले छिटो, सहज र सुरक्षित रूपमा वित्तीय सेवा प्राप्त गर्न चाहिरहेका छन् । यही बदलिँदो आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नबिल बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको हो।
बैंकको उद्देश्य केवल नयाँ कार्ड उपलब्ध गराउनु मात्र होइन, बैंकिङ सेवालाई ग्राहकको मोबाइलमै पुर्याउनु पनि हो । क्रेडिट कार्ड लिनका लागि शाखामा पुग्ने, कागजी प्रक्रिया पूरा गर्ने र भौतिक कार्ड प्राप्त गर्न प्रतीक्षा गर्ने अवस्थालाई डिजिटल माध्यमबाट प्रतिस्थापन गर्ने प्रयास यस सेवामा देखिन्छ।
यसका लागि बैंकले आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकहरूको पहिचान गरी पूर्वस्वीकृति प्रदान गरिसकेको छ । त्यसैले योग्य ग्राहकले एनबैंक एपको होमपेजमा स्वतः देखिने ‘ब्उउथि ल्यध’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।
यसले ग्राहकलाई आवश्यकताअनुसार कर्जा सुविधा उपयोग गर्ने अवसर प्रदान गर्नुका साथै बैंकको डिजिटल रूपान्तरणलाई समेत थप गति दिने विश्वास बैंकले लिएको छ।
के–के छन् भर्चुअल क्रेडिट कार्डका फाइदा ?
नबिल भर्चुअल क्रेडिट कार्डको सबैभन्दा महत्वपूर्ण विशेषता यसको पूर्ण डिजिटल स्वरूप हो । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाटै कार्ड प्राप्त गर्न र प्रयोग गर्न सक्ने भएकाले भौतिक कार्ड बोक्नुपर्ने आवश्यकता पर्दैन।
यसका प्रमुख फाइदाहरू यस प्रकार छन्
मोबाइलबाटै क्रेडिट कार्ड प्राप्त गर्न सकिने : परम्परागत कार्डका लागि आवश्यक कागजी प्रक्रिया र औपचारिक झन्झटबिना एनबैंक एपबाटै आवेदन दिन सकिन्छ ।
शाखा धाउनुपर्ने बाध्यता कम हुने : योग्य ग्राहकले मोबाइल एपमार्फत नै कार्ड प्राप्त गर्न सक्ने भएकाले बैंकसम्म पुग्नुपर्ने आवश्यकता घट्छ ।
क्यूआरमार्फत भुक्तानी गर्न सकिने : फोनपे मर्चेन्ट क्यूआर स्वीकार गर्ने व्यापारिक प्रतिष्ठानमा नबिल भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।
छिटो र सहज कारोबार : मोबाइलबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सकिने भएकाले दैनिक कारोबारलाई सरल र सुविधाजनक बनाउँछ ।
डिजिटल तथा आधुनिक बैंकिङ अनुभव : ग्राहकले आफ्नो मोबाइलबाटै क्रेडिट सुविधा उपयोग गर्न सक्ने भएकाले बैंकिङ सेवा अझ आधुनिक र प्रविधिमैत्री बन्नेछ ।
सुरक्षित भुक्तानी प्रक्रिया : एपमा उपलब्ध प्रमाणीकरण तथा कन्फर्मेसन पिनमार्फत भुक्तानी प्रक्रिया पूरा गर्न सकिने भएकाले कारोबारलाई सुरक्षित बनाउन सहयोग पुग्छ ।
यसरी हेर्दा भर्चुअल क्रेडिट कार्ड केवल भौतिक कार्डको डिजिटल विकल्प मात्र नभई ग्राहकको दैनिक वित्तीय कारोबारलाई सहज बनाउने नयाँ माध्यमका रूपमा आएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी के भन्छन् ?

नबिल बैंकले नयाँ सेवा सुरु गर्नुको पछाडि ग्राहकको सुविधा र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले पनि भर्चुअल क्रेडिट कार्डलाई बैंकको ग्राहककेन्द्रित तथा नवप्रवर्तनमुखी बैंकिङ रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।
नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै सीईओ ज्ञवालीले ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार वित्तीय सेवा उपलब्ध गराउन बैंक निरन्तर प्रयासरत रहेको बताए।
उनले भने, “ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो । डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं । नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।” उनका अनुसार यो सेवाको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिने रणनीतिक दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ । साथै, आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सहज, सरल र उन्नत वित्तीय समाधान उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।
फोनपेसँगको सहकार्यले क्यूआर भुक्तानी थप सहज
नबिल भर्चुअल क्रेडिट कार्डलाई व्यवहारमा सहज रूपमा प्रयोग गर्न सकिने बनाउने उद्देश्यले नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच सहकार्य भएको छ।
यससम्बन्धी समझदारीपत्रमा दुवै संस्थाबीच हस्ताक्षर भएको थियो । यो सहकार्यसँगै नबिल भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा कारोबार गर्न सकिनेछ । यसको अर्थ, ग्राहकले कुनै पसल, रेस्टुरेन्ट वा अन्य व्यापारिक प्रतिष्ठानमा सामान तथा सेवा खरिद गर्दा फोनपे मर्चेन्ट क्यूआर स्क्यान गरी आफ्नो भर्चुअल क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्नेछन्।
यसले डिजिटल भुक्तानीको दायरा विस्तार गर्नुका साथै ग्राहकलाई भुक्तानीको थप विकल्प उपलब्ध गराउनेछ । बैंकिङ सेवा र डिजिटल भुक्तानी प्रणालीबीचको यस्तो सहकार्यले नेपालको डिजिटल वित्तीय कारोबारलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कसरी प्रयोग गर्ने नबिल भर्चुअल क्रेडिट कार्ड ?
नबिल भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्न र प्रयोग गर्न ग्राहकले सबैभन्दा पहिले आफ्नो मोबाइलमा नबिल बैंकको आधिकारिक एनबैंक एप डाउनलोड गरी लगइन गर्नुपर्छ।
बैंकका अनुसार योग्य ग्राहकको एपमा होमपेजमै ‘Apply Now’ विकल्प देखिनेछ । उक्त विकल्पमार्फत कार्डका लागि आवेदन दिन सकिन्छ । कार्ड प्राप्त भएपछि फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्न निम्न प्रक्रिया अपनाउन सकिन्छ।
नबिल भर्चुअल क्रेडिट कार्डबाट भुक्तानी गर्ने सात चरण :

चरण १: आफ्नो मोबाइलमा एनबैंक एप खोल्नुहोस् र लगइन गर्नुहोस् ।

चरण २: भुक्तानी गर्नुपर्ने व्यापारिक प्रतिष्ठानको मर्चेन्ट क्यूआर कोड स्क्यान गर्नुहोस् ।

चरण ३: आफ्नो अकाउन्ट विवरणको छेउमा रहेको दायाँतर्फको एरो (Arrow) बटन थिच्नुहोस् ।

चरण ४: भुक्तानी माध्यमका रूपमा ‘Nabil Virtual Credit Card’ छनोट गर्नुहोस् ।

चरण ५: आफूले भुक्तानी गर्नुपर्ने रकम प्रविष्ट गर्नुहोस् ।

चरण ६: भुक्तानीसम्बन्धी सम्पूर्ण विवरण ध्यानपूर्वक जाँच गरी ‘Pay Now’ बटन थिच्नुहोस् ।

चरण ७: कारोबार पुष्टि गर्न आफ्नो Confirmation PIN गर्नुहोस् ।

यी प्रक्रिया पूरा भएपछि ‘Your Payment Completed Using Your Nabil Virtual Credit Card’ भन्ने सन्देश प्राप्त हुनेछ । यससँगै तपाईंको भुक्तानी सफल भएको पुष्टि हुनेछ ।

यसरी सामान्य मोबाइल बैंकिङ कारोबार गरेजस्तै सहज प्रक्रियाबाट ग्राहकले आफ्नो भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन् ।
डिजिटल बैंकिङमा नबिलको अर्को महत्वपूर्ण कदम
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारका लागि एनबैंक एप सञ्चालनमा ल्याएको छ भने ग्राहकको वित्तीय पहुँच, सुविधा र अनुभवलाई थप प्रभावकारी बनाउन नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ।
हाल बैंकले देशभर दुई सय ६२ वटा शाखा तथा तीन सय १६ वटा एटीएम मेसिनमार्फत सेवा प्रदान गरिरहेको छ । २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहकमुखी वित्तीय समाधान विस्तार गर्दै लैजाने जनाएको छ।
नबिल भर्चुअल क्रेडिट कार्डको सुरुवातलाई यही यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । यसले ग्राहकलाई बैंकिङ सेवाका लागि भौतिक उपस्थितिभन्दा डिजिटल पहुँचलाई प्राथमिकता दिने वातावरण निर्माण गर्न सहयोग पुर्याउनेछ।
समग्रमा, बैंकिङ सेवा अब शाखा र भौतिक कार्डमा मात्र सीमित रहने अवस्था छैन । मोबाइल एपबाटै क्रेडिट कार्ड प्राप्त गर्ने र फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्ने सुविधा उपलब्ध गराएर नबिल बैंकले डिजिटल बैंकिङलाई दैनिक जीवनसँग अझ नजिक बनाउने प्रयास गरेको छ।
ग्राहकको हातमा रहेको मोबाइललाई नै बैंकिङ सेवाको माध्यम बनाउने यो पहलले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप प्रोत्साहन गर्ने अपेक्षा गर्न सकिन्छ । अब क्रेडिट कार्डको सुविधा लिन भौतिक कार्ड कुर्नुपर्ने होइन, मोबाइलमै उपलब्ध डिजिटल सुविधाको उपयोग गर्न सकिने भएको छ।