नेपाल राष्ट्र बैंकले साइबर ठगी तथा वित्तीय अपराध नियन्त्रणका लागि स्थापना गर्न लागिएको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ को कार्य सञ्चालनमा समन्वय र सहकार्य गर्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूलाई आग्रह गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको कार्य सञ्चालनसम्बन्धी आवश्यक समन्वयका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८३/०६/२३ को निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र को स्थापना र कार्य सञ्चालनसम्बन्धी दिग्दर्शन–२०८३’ को बुँदा ५.६ (ग) मा उल्लेखित व्यवस्थाअनुसार केन्द्रको कार्य सञ्चालनमा सहयोग र सहकार्य गर्न राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको हो।
राष्ट्र बैंकले केन्द्रको कार्य समन्वय, सहकार्य तथा सहजीकरणका लागि नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोसँग सम्पर्क तथा समन्वय गर्नुपर्ने जनाएको छ । साथै, केन्द्रमा भौतिक रूपमा सँगै नरहने ‘क’ वर्गका वाणिज्य बैंक, ई–सेवा लिमिटेड र आईएमई खल्ती लिमिटेडबाहेकका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकबाट एक जना सम्पर्क अधिकृत माग गरिएको छ।
राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई सम्पर्क अधिकृतको नाम र २४ सै घण्टा उपलब्ध हुने फोन नम्बर उपलब्ध गराउन भनेको छ । त्यसैगरी, सम्बन्धित कार्यालयको इमेल ठेगाना सहितको विवरण २०८३ कात्तिक १९ गते दिउँसो ३ बजेभित्र राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको इमेल ठेगाना मा पठाउन जानकारी गराएको छ।
राष्ट्र बैंकको यो पहलले साइबर ठगीका घटनामा सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सुरक्षा निकायबीच तत्काल सम्पर्क स्थापित गरी सूचना आदानप्रदान, समन्वय र आवश्यक कारबाहीको प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ।