शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज घण्टाकर्ण राक्षसको पूजा : पुरुषकाे यौनांगलाई विशेष प्राथमिकता दिएर मनाइन्छ

मंगलबार, साउन १० २०७९

भादगाउँ । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै  गठामुंगः पर्व मनाउँदैछन् ।

सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । 

यो घण्टाकर्ण बनाउँंदा पुरुषको लिङ्गलाई विशेष प्राथमिकतामा राखेर बनाइन्छ । लामो, मोटो, ठूलो लिंगको आकार बनाइन्छ । लठ्ठीमा पराल बेरेर लिंगको आकार दिइन्छ । साथै, यौनसम्पर्क गर्दा विर्य झरेको संकेतको रुपमा सेता कपास झुण्ड्याइन्छ ।

वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

आज उनीहरुले आफ्नो घरगृहमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा आज गर्दछन् । सो समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ । 

घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडा) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ । 

बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम कली (खुट्टामा लगाउने गोलाकार) वा तामाको औँठी लगाइदिने चलन पनि छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने, हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ ।