काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।
सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले प्रयोगशालाको रिपोर्ट खोलेर अध्ययन गरेको थियो ।
बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । कति कुरा प्राविधिकहरुले नै प्रष्ट्याउनु पर्ने खालको भएका कारण यसका लागि ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गर्ने उनले बताए ।
पत्रकारसँग प्रतिक्रिया दिँदै उनले भने, ‘फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेका छौं । यो विश्लेषणको क्रममा नै छ । प्राविधिक विषय भएकाले फरेन्सिक ल्याबका विज्ञहरुबाटै जानकारी लिनुपर्ने देखियो ।’
समितिले ल्याबका विज्ञहरुलाई बेलुका ४ बजे आमन्त्रण गरेको उनले बताए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए ।