बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१ अर्ब २६ करोड अपचलनको आरोप लागेका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष राय पक्राउ

आइतबार, जेष्ठ १८ २०८२

काठमाडौं । १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको काण्ड छानबिनपछि फरार रहेका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

लामो समयदेखि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । अदालतबाट पक्राउ पूर्जी जारी भएका उनी त्यसपछि फरार थिए ।

सिआइबीले रायलाई काठमाडौंमा पक्राउ गरिएको बताएको छ । तर उनलाई भारतबाट पक्राउ गरेर ल्याइएको स्रोतले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले अनुसार बैंकमा सङ्कलन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी राय फरार थिए ।

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको थियो ।

उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जानकारी प्रहरी उपरीक्षक खड्काले दिए।