काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छन्।
कुकुर तिहारको अवसरमा उनले नेपाली मौलिक संस्कृति, परम्परा र सभ्यताको सुन्दर पक्षलाई विश्वसामु चिनाउने अवसरका रूपमा यस पर्वको विशेष महत्त्व रहेको बताइन् ।
उनले कुकुर तिहार वर्षमा एक दिन मनाइने औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै पशुप्रति देखाइने माया, सम्मान र संरक्षणको भावना वर्षभरि नै व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् ।
मन्त्री चौधरीले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’ अन्तर्गत पशु कल्याण, रेबिज नियन्त्रण, खोप कार्यक्रम तथा जिम्मेवार रूपमा घरपालुवा जनावर पाल्ने कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।
उनका अनुसार नेपाल सरकार तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सडकमा अलपत्र परेका, घाइते भएका, अपाङ्गता भएका तथा असहाय गाईवस्तु र कुकुरको उद्धार, उपचार र संरक्षणका लागि आश्रयस्थल तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
मन्त्री चौधरीले नेपालमा पशु संरक्षणको ऐतिहासिक अभ्यास रहेको उल्लेख गर्दै वि।सं। १९१० को मुलुकी ऐनमा गाईवस्तुको संरक्षणसम्बन्धी व्यवस्था गरिएको र वि।सं। १९९४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपति गौशालाको स्थापना गरेको बताइन् ।
त्यस्तै, नेपालको संविधानले पनि पशु कल्याणलाई प्रवद्र्धन गरेको र मुलुकी अपराध संहिता, २०७४ मार्फत पशुपन्छीको संरक्षण, लापरबाहीपूर्ण पालनपोषण, सडकमा छाड्ने तथा क्रूरतापूर्ण व्यवहार नियन्त्रणका लागि कानुनी व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
पशु कल्याणसम्बन्धी निर्देशिका, २०७३ ले पशुलाई ओसारपसार गर्दा क्रूरतापूर्ण व्यवहार गर्न नपाइने व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री चौधरीले काममा लगाइने पशुलाई दैनिक अधिकतम आठ घण्टासम्म मात्र काममा लगाउन र सातामा कम्तीमा एक दिन आराम दिनुपर्ने व्यवस्था रहेको बताइन् ।
सरकारले पशु कल्याण तथा स्रोत व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्यालय स्थापना गरी पशु कल्याणका कार्यक्रम तथा प्राविधिक निर्देशिका जारी गर्दै आएको पनि उनले बताइन् । पशु संरक्षणसम्बन्धी छुट्टै कानुनको लामो समयदेखिको मागलाई सम्बोधन गर्न सरकारले पशु कल्याण विधेयकको मस्यौदा तयार पारेको र सरोकारवालाबाट सुझाव संकलन गरिरहेको उनले बताए ।
मन्त्री चौधरीले स्थानीय तहसँगको समन्वयमा सडक कुकुर व्यवस्थापनका लागि खोप, बन्ध्याकरण, उपचार तथा मानवीय व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाइने पनि बताइन् ।