काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको नियमित १५औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्। उनले आर्थिक प्रभाव र दबाबका आधारमा पार्टीको आधिकारिकता टुंग्याइएको दाबी गरे।
निर्वाचन आयुक्तहरूलाई ज्यान मार्ने धम्की दिइएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै देउवाले यस विषयमा असन्तुष्टि जनाए। एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको प्रसङ्ग उल्लेख गर्दै उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको आरोप लगाए।
पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताउँदै देउवाले सभापति गगनकुमार थापाप्रति लक्षित टिप्पणीसमेत गरे। १८ करोड रुपैयाँमा पार्टी अरूलाई बेच्नेले कांग्रेस जोगाउन नसक्ने उनको जिकिर थियो।
आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै देउवाले अब व्यक्तिगत स्वार्थभन्दा पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए। पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको भएको उनको भनाइ थियो।
उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वाससमेत व्यक्त गरे। कांग्रेसको चुनाव चिह्न रुख कायम रहनेमा आफू आशावादी रहेको बताउँदै उनले न्यायपूर्ण निर्णय आउने विश्वासका साथ अघि बढ्ने बताए।
देउवाले पार्टी पैसाको प्रभावमा नभई विधि, विधान र कार्यकर्ताको विश्वासका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिए। साथै पार्टीको पहिचान र राजनीतिक अस्तित्व जोगाउन सबै एकजुट हुनुपर्ने धारणा राखे।