आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मन्त्री किराँतीको राजीनामा माग गर्दै सनातन धर्मावलम्बीहरुले आज संसद घेराउ गर्ने

सोमबार, पुष ९ २०८०

काठमाडौं। नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजीनामाको माग गर्दै संसद भवन घेराउ गरिने भएको छ।

मन्त्री किराँतीको राजीनामा माग गर्दै सनातन धर्मावलम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन्।

‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद भवन घेराउ गर्न लागिएको नेपाल सनातन धर्मसंस्कृति संगठनका संयोजक पुष्पराज पुरुषले जानकारी दिए।

उनका अनुसार सनातन संस्कृतिको खुलेआम बिरोध गर्दै अमुक पन्थको प्रबक्ता बनी प्रचार गरे पछि मन्त्री किराँतीलाई मन्त्रिपरिषद पदबाट बर्खास्त गराउन संसद भवन घेराउ गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो।

गत बुधबार मन्त्री किराँतीले इसाई धर्मावलम्बीहरूको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर यतिबेला उनी आलोचित बनेका छन् ।

मन्त्री किराँतीको नेपालमा “क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी” भएको र संविधान नमान्नेहरू “देशद्रोही” भएको भनेको भन्दै उनीहरूलाई ‘जेल हाल्नुपर्ने’ अभिव्यक्ति दिएसँगै उनको चौतर्फी आलोचना भएकाे हाे ।

मन्त्री किराँतीले विश्वमा धार्मिक जनसङ्ख्याबारे तथ्याङ्क समेत पेस गर्दै विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या क्रिश्चियन धर्मावलम्बीकै रहेको बताएका थिए ।

उनले नेपालको रङ्गीबिरङ्गी फूलबारीमा इसाई धर्मावलम्बीहरू पनि एक रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति दिएका थिए । संसारमा ३० प्रतिशत मानिसहरु इसाई धर्मावलम्बी भएकाले नेपालीमा पनि लाखौं इसाई धर्मावलम्बी रहेको उनले बताएका थिए ।

नेपाल सम्पूर्ण धर्मावलम्बीको साझा फूलवारी रहेको र आफू उक्त फूलबारीको माली भएको र राज्य अभिभावक रहेको मन्त्री किराँतीको भनाइ थियो।