काठमाडौं, २२ वैशाख । प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरुको मृत्यु प्रकरणमा गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरुले उक्त विद्यालयमा केही दिनअघि मृत फेला परेकी प्रिसा साहको मृत्यु प्रकरणको बारेमा प्रश्न उठाएका थिए ।
प्रतिनिधिसभामा उठेको प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभामुख देवराज घिमिरेले घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग छलफल गर्न र मृतकका परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिए ।
कांग्रेस सांसद रामकृष्ण यादवले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाको छानविनका गर्दै दोषिमाथि कारवाहीका लागि नेपाल सरकार र भारत सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाले विदेशमा पढ्न जाने विद्यार्थीहरुको सुरक्षामाथि नै प्रश्न खडा भएकाले सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै सांसद अमरेशकुमार सिंहले कलिंगा इन्स्टिच्यूटमा दुई छात्राको रहस्यमय मृत्यु हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएका थिए ।