अछाम। जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीसहित तीन जना महिला पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् ।
उनीहरुविरुद्ध अपमानजनक व्यवहार गरेको भन्दै मुद्दा दायर भएको हो । ०७९ जेठ २१ मा घर नजिकैको जंगलमा विनोद शाही मृत भेटिएका थिए ।
काँग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ ।
विनोद शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा भए तापनि घटनाले राजनीतिक रूप लिएपछि पटक-पटक विवाद हुँदै आएको छ ।
सोही क्रममा पञ्चदेवल विनायक-४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् । अदालतबाट पक्राउ पुर्जी लिएर वैशाख १७ गते उपप्रमुख शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार स्थानीय तहको चुनावको विषयलाई लिएर भएको विवादपछि पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानका ९७ जनालाई फरक-फरक प्रकृतिका लगभग ८ मुद्दा प्रहरी कार्यालयमा आएका छन् ।