भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे ।
भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने काम समेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गरे ।रासायनिक मल कारखाना देश भित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दवाव दिएपनि मन्त्रीहरुले भारतसँग डराएर सो कार्यलाई अघि बढाउन नसकेको उनको भनाई थियो ।
उनले भने, ‘अहिले हामी सुन्छौं–न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ । यो हेर्दाखेरी सरल छ । तर यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छायाँ छ । यहाँ अन्तराष्ट्रिय छाँया परेको हुनाले देशलाई अझ संकटमा पु-याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैं तयार म उपस्थिति साथीहरुलाई भन्न चाहन्छु ।’
अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।