बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रेशमलाई देखाउँदै काँग्रेस नेता आलमलाई छुटाउने प्रपञ्चले अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुको प्रदर्शन

मंगलबार, मंसिर २७ २०७९

काठमाडौं  । सरकारले रेशम चौधरीका नाममा कुख्यात अपराधको आरोपमा जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई छुटाउने प्रपञ्चका साथ अध्यादेश ल्याएकाे भन्दै अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रेशम चौधरीका साथै कुख्यात अपराधको आरोपमा जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई पनि आममाफी दिएर छुटाउन अध्यादेशको सहारा लिएको उनीहरुको आरोप छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

घण्टाघर अगाडि आयोजित कोणसभामा उनीहरुले चौधरी जेलबाट छुटेपछि अफताबलाई पनि सोही अध्यादेश अनुसार छुटाउनसक्ने आशंका व्यक्त गरे । तत्कालका लागि हेर्दा रेशमका लागि जस्तो देखिए पनि अफताबलाई पनि छुटाउने भित्री खेलका साथ यो अध्यादेश ल्याइएको उनीहरुले बताए ।

अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको उक्त अध्यादेशको विरोध गरेको थियो । राष्ट्रपतिसमक्ष पेश भएको सो विधेयक फिर्ता लिन पनि संगठनले सरकारसँग माग गरेको छ।

‘निर्वाचन सम्पन्न गरी नयाँ जनादेश प्राप्त संसद्‌को शपथ ग्रहण तथा प्रथम बैठकको सम्मुखमा उभिएको अवस्थामा निर्वाचन सम्पन्न गर्ने एक मात्र जिम्मेवारी प्राप्त कामचलाउ सरकारले ल्याएको अध्यादेशप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ संगठन अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।