आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

शे–फोक्सुन्डोमा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

आइतबार, कार्तिक १५ २०८३

सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जरुरी सूचना जारी गर्दै केही दिनदेखि भएको भारी हिमपातका कारण पर्यटकहरू उक्त क्षेत्रमा फसेको जनाएको छ।

प्रशासनका अनुसार उनीहरू फसेको जानकारी कात्तिक १४ गते प्राप्त भएको थियो। त्यसपछि कात्तिक १५ गतेदेखि हेलिकप्टरमार्फत उद्धार कार्य सुरु गरिएको हो।

उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष छन्। उनीहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे रहेका छन्। उनीहरू सबै भारतीय नागरिक हुन्।

उनीहरू शे–फोक्सुन्डो ताल भ्रमणका लागि डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको उल्लेख छ।

मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।