काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकाले मंगलबार सार्वजनिक गरिन लागेको हो ।
योसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाउनेछ ।
सोमबार मात्रै कांग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम छनोटमा त्रुटि भएको भन्दै आयोगले नाम सच्याउन पत्राचार गरेको थियो । तर नेकपा एमालेले समानुपातिकतर्फ पुरानै सूचीलाई यथावत राख्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
आयोगले केही क्लस्टर नमिलेको उल्लेख गर्दै पठाएको पत्रको जवाफमा एमालेले आफूले पठाएको सूची उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप रहेको दाबी गरेको हो । तर आयोगले एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्दैछ ।
प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ ।
त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।