काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएका छन् ।
पूर्वसभामुख समेत रहेका नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भएपनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई दिएका हुन् ।
संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले उपनेता यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत मान्छे अर्थमन्त्री जनार्दन शर्माले सामेल गराएको हो, होईन ? यथार्थ कुरा बाहिर आउने पनि स्पष्ट पारे ।
प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होईन भनेपछि छानबिन नगर्ने कुराले संसदलाई कमजोर बनाउने नेम्वाङको भनाई थियो ।
उपनेता नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानबिन गरेर तथ्य बाहिर ल्याउन ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्याए ।