काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका छन् ।
तीमध्ये १ हजार १७४ वटा गुनासो समाधान गरिएको छ भने ११९ वटा फछ्र्योट गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन् ।
शुक्रबार आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा प्रवक्ता अर्यालले श्रमिकको तलब तथा ज्याला, दसैँ भत्ता भुक्तानी, ग्यास अभाव, बिलबिजक र सार्वजनिक यातायातको भाडादर वृद्धिलगायत विषयमा गुनासो आएको बताए ।
उनले भने, ‘पछिल्लो हप्ता हेलो सरकारमा आएका गुनासाहरू जम्माजम्मी १ हजार ७५५ वटा हामीलाई प्राप्त भएका छन् । जसमा ११९ वटा गुनासा फछ्र्योट भएका छन् र १ हजार १७४ वटा गुनासा समाधान नै भएका छन् ।’
अर्यालका अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलबभत्ता तथा सेवा सुविधा प्राप्त गर्न समस्या भएको विषयमा पनि गुनासो आएका छन् । त्यस्तै, भन्सार छली, तस्करी, न्यून बिजकीकरण र अनलाइन ठगीसम्बन्धी उजुरीसमेत प्राप्त भएका छन् ।
‘पछिल्लो समय अनलाइन ठगीसँग सम्बन्धित घटनाहरू पनि बढिरहेका छन्,’ उनले भने ।
साइप्रसमा कन्सुलर सेवा प्राप्त गर्न कठिनाइ भएको गुनासो पनि आएको उनले बताए। उक्त विषयमा समन्वय गरी समाधान गरिएको उनको भनाइ छ ।
कार्यालयका अनुसार हेलो सरकारमा प्राप्त गुनासो सम्बोधन तथा सहजीकरणका लागि बागमती प्रदेशका विभिन्न जिल्लास्थित कार्यालयहरूको स्थलगत अनुगमनसमेत भइरहेको छ ।
१ हजार १६७ कर्मचारी कारवाहीमा
राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने १ हजार १३२ र तोकिएको पोसाक नलगाउने ३५ गरी १ हजार १६७ कर्मचारीमाथि नियमानुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रवक्ता अर्यालले असोज १ देखि २० गतेसम्म १०६ वटा कार्यालयमा गरिएको अनुगमनका क्रममा कर्मचारीहरूले आचारसंहिता पालना नगरेको पाइएको जानकारी दिए ।