मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रास्वपा रिक्त पदाधिकारी मनोनयनअघि रवि र कुमार बेनबीच भेटवार्ता

मंगलबार, असोज २० २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रिक्त पदाधिकारी पदमा मनोनयनको अन्तिम तयारी भइरहेका बेला उपसभापतिका प्रमुख दाबेदार एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका मुख्य सल्लाहकार कुमार बेन र पार्टी सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

मंगलबार बेन सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका थिए। भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकार–पार्टी समन्वय तथा रास्वपाभित्र लामो समयदेखि टुंगिन नसकेको पदाधिकारी मनोनयनबारे छलफल भएको बताइएको छ।

पार्टीभित्रको आन्तरिक संवाद र शक्ति सन्तुलनसम्बन्धी छलफल टुंगिएपछि उपसभापतिमा कुमार बेन र महामन्त्रीमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई मनोनयन गर्ने तयारी भएको स्रोतको दाबी छ।

रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहको सिफारिस र सहमतिमा सभापति लामिछानेले यी नाम अघि बढाएको स्रोतको भनाइ छ।

गत असारमा चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा, डा. स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापतिमा तथा विपिन आचार्य महामन्त्रीमा प्रत्यक्ष निर्वाचित भएका थिए।

रास्वपाको संशोधित विधानअनुसार पार्टीमा १९ जना पदाधिकारी र १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। विधानले सभापतिलाई केन्द्रीय सदस्यहरूमध्येबाट निश्चित पदाधिकारी मनोनयन गर्ने अधिकार दिएको छ।

सभापतिले मनोनयन गर्ने कोटामा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी १२ जना पदाधिकारी रहने व्यवस्था छ।