काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
आइतबार बिहान सार्वजनिक पछिल्लो मतपरिणामअनुसार खुला उपसभापतिमा भण्डारीले ६२३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई. मधु आचार्यले ३४३, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत पाएका छन् ।
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरी ३४७ मतसहित पहिलो स्थानमा छन् । जीवन परियारले २८७, फरमुल्लाह मन्सुरले १६४, सीता गुरुङले १५१ र रञ्जित कर्णले ९८ मत प्राप्त गरेका छन् ।
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ६५३ मतसहित अग्रता लिएका छन् । अमरसिंह पुन मगरले ४३६, उदयशमशेर राणाले ३६६, डा. सुनिलकुमार शर्माले २८८, गुरुराज घिमिरेले १६३, नैनसिंह महरले १२२, शंकर तिवारीले १८ र डा. सन्तोष उपाध्यायले १६ मत पाएका छन् ।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ५२३ मतसहित अगाडि छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ र रीता खनालले १३९ मत प्राप्त गरेकी छन् ।
कांग्रेसको सभापतिमा यसअघि नै गगनकुमार थापा निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
जारी मतगणनाबाट खुला दुई र समावेशी एक गरी तीन उपसभापति तथा खुला दुई र महिला एक गरी तीन महामन्त्री निर्वाचित हुनेछन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।