काठमाडौँ । एनसेलले सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै फोरजीसहितका दूरसञ्चार सेवा विस्तार गरेको छ।
नयाँ टावर सञ्चालनमा आएसँगै मार्मा गाउँपालिकाको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाले मोबाइल तथा इन्टरनेट सेवामा थप सहज पहुँच पाएका छन्।
स्थानीयको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर टावर जडान गरिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार नयाँ टावरबाट स्थानीय बासिन्दाका साथै अपि हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकले पनि थप भरपर्दो सञ्चार सेवा प्राप्त गर्नेछन्।
एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले नयाँ टावर सञ्चालनसँगै दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच विस्तार गर्न सफल भएको बताइन्।
“यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै त्यहाँका स्थानीयका साथै पर्यटकलाई यसको फाइदा दिन सफल भएका छौँ। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैँ कटिबद्ध रहेको स्पष्ट प्रमाण हो,” उनले भनिन्।
हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढी मोबाइल टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
मार्मामा सञ्चालनमा ल्याइएको नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा उपलब्ध गराउनेछ। यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार हुनुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।