सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार, अक्टोबर ३१ मा काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ आयोजना गर्ने भएको छ । कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूलाई लक्षित गरी आयोजना हुन लागेको प्रतियोगितामा करिब १०० जना एमेच्योर गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिपस्तरीय पार–७२ गल्फ कोर्समा सञ्चालन हुनेछ । प्रतिस्पर्धात्मक खेलका साथै सहभागीहरूबीच आपसी सम्बन्ध विस्तार, सहकार्य, संवाद र मित्रता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । नेपालको अग्रणी निर्जीवन बीमा सेवा प्रदायक कम्पनीका रूपमा परिचित सलिकोले विगत तीन दशकदेखि व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रलाई लक्षित गरी विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । ग्राहक सेवा, जोखिम संरक्षण र नवीनतालाई प्राथमिकतामा राख्दै आएको कम्पनीले यस प्रतियोगितामार्फत व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ। पुरस्कारका विधामा मेन्स विनर, रनरअप, बेस्ट ग्रस, लेडिज विनर, लेडिज रनरअप, ६० वर्ष वा सोभन्दा माथिका खेलाडीका लागि सिनियर विनर, ७० वर्ष वा सोभन्दा माथिका खेलाडीका लागि सुपर सिनियर विनर, मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ तथा सलिको ३० वर्षको विश्वाससँग सम्बन्धित विशेष पुरस्कारलगायतका विधा समावेश छन् ।
प्रतियोगिताको अर्को आकर्षणका रूपमा होल नम्बर १० मा होल–इन–वन गर्ने पहिलो खेलाडीले टाटा नेक्सन कार जित्ने अवसर पाउनेछन् । यस विशेष पुरस्कारले प्रतियोगितालाई थप रोमाञ्चक बनाउनुका साथै खेलाडीहरूमा उत्साह थप्ने अपेक्षा गरिएको छ । प्रतियोगिताबारे धारणा व्यक्त गर्दै सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरोकारवाला तथा समग्र कर्पोरेट समुदायसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने निरन्तर प्रयासअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले भने, “खेलकुदका यस्ता कार्यक्रम प्रतिस्पर्धामा मात्र सीमित हुँदैनन्, बरु आपसी सद्भाव अभिवृद्धि गर्ने, व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा इमानदारी, खेल भावना र पारस्परिक सम्मानजस्ता साझा मूल्यका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण अवसर पनि हुन् ।”क्षेत्रीले प्रतियोगिताले व्यावसायिक कारोबारभन्दा बाहिर रहेर पनि सरोकारवालासँग सम्बन्ध विस्तार गर्ने तथा विश्वास र दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए । स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र खेलको वास्तविक भावनाले भरिएको स्मरणीय कार्यक्रम हुनेमा उहाँले विश्वास व्यक्त गरे ।
सलिकोले यस प्रतियोगितामार्फत खेलकुदलाई सम्बन्ध विस्तार र सहकार्यको प्रभावकारी माध्यमका रूपमा अघि बढाउँदै आफ्ना सरोकारवालासँगको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरेको छ । कम्पनीका अनुसार प्रतियोगिता कार्यक्षेत्रभन्दा बाहिर पनि भेटघाट, संवाद र सहकार्यका अवसर सिर्जना गर्दै विश्वास, सहकार्य तथा दीर्घकालीन साझेदारीलाई प्रोत्साहन गर्ने पहल हो ।