बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ओलीको चेतावनी : सरकारविरुद्ध आन्दोलनको विकल्प छैन

बुधबार, कार्तिक ११ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन् । उनले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आन्दोलनका लागि आन्तरिक तयारी गर्नुपर्ने बताए। तिहार र छठपछि पनि आन्दोलन हुन सक्ने संकेत गर्दै उहाँले नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे ।

‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ । हामीले आन्दोलनकारी ढङ्गबाट अगाडि बढ्नुको विकल्प छैन । अहिले होस् कि भोलि होस्, कि तिहार–छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ । भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले सरकारमाथि गुण्डाराज चलाएको आरोपसमेत लगाए । पूर्वप्रधानन्यायाधीशदेखि आफूलाई समेत सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको उनको जिकिर थियो ।

सरकारले देशमा आतङ्क फैलाउने, सादा पोसाकका प्रहरी प्रयोग गरेर बलजफ्ती गर्ने तथा गिरफ्तारी गर्ने जस्ता अराजक गतिविधि गरिरहेको आरोप पनि उनले लगाए ।

ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई नराम्रोसँग पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै उहाँले त्यसलाई असफल बनाउनुपर्ने बताए ।

‘आगामी चुनावमा हामीलाई नराम्रो ढङ्गले पराजित गर्न खोज्दैछन्, त्यसलाई हामीले दिवासपनामा परिणत गराउनुपर्छ । विगतमा पनि हामीले गरेका छौँ,’ उनले भने ।

देश सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट मुलुकलाई निकास दिन आन्दोलन आवश्यक रहेको धारणा राखे । आन्दोलनलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै उनले आन्दोलनबाटै शक्ति आर्जन हुने र पार्टी अघि बढ्न सक्ने बताए ।

‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ उनले भने ।

आन्दोलन गर्ने आँट नगरे सफलता हासिल गर्न नसकिने दाबी गर्दै ओलीले आन्दोलनले पार्टीलाई टिकाउने, अघि बढाउने र जिताउने बताए ।