कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा २३ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा १६ दशमलव ९९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा एक दशमलव ४३ प्रतिशतले वृद्धि भएर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा करिब १९ प्रतिशतले बढेर ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २८ करोड ४६ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा ११ करोड २ लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकको वार्षिकीकृत लाभांश क्षमता १५.७६ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको कर्जा लगानी तीन दशमलव ९५ प्रतिशतले बढेर ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको निक्षेप संकलन दुई दशमलव ६० प्रतिशतले वृद्धि भएर ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको खराब कर्जा अनुपात (एनपीएल) मा सुधार देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार दशमलव ४१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन दशमलव ९३ प्रतिशतमा झरेको छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ एक सय ६१ रुपैयाँ ८४ पैसा रहेको छ ।