काठमाडौँ l नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो ।
सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि ९ जना तोकिएको छ । साथै, हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तूर पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड (घ) बमोजिम छुट दिने निर्णय समेत गरिएको छ ।
हिमाल सफाइका लागि सेनाको माउन्ट वार कलेजमा ७०/८० जनाले तालिम गरिरहेका छन् । हालै सुरु भएको एक महिने तालिमबाट ८ जना सगरमाथा आरोहणमा जानेछन् ।
‘हिमालको फोहोर संकलन अभियानका लागि तालिम सुरु भएको छ । तीमध्ये केही आरोहणमा जानेछन्, केही आधारण शिविरमा बसेर टोलीलाई सहयोग पुर्याउनेछन्,’ सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पर्दाफासलाई भने ।
सेनाले २२ चैतदेखि अभियान सुरु गर्ने भएको छ । गत वर्ष सेनाले सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमालबाट फोहोर संकलन गरेको थियो ।
यस वर्ष सरकारले अभियानका लागि ८ करोड ३० लाख रुपैयाँ बजेट दिएको छ । तर, सेनाले १२ करोड ९६ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ । सेनाले केही फोहोर हिमालबाट संकलन गरेर स्थानीय गाउँमा ल्याएर नष्ट गर्ने गरेको छ । तर, केही फोहोर नष्ट गर्न नमिल्ने र काठमाडौं ल्याउनुपर्ने हुँदा ढुवानी खर्च बढ्ने भएकाले लागत वृद्धि हुने सेनाले जनाएको हो ।
गत वर्ष ६ वटा हिमालहरुको सफाइका लागि ३१ चैतदेखि १५ जेठ २०७८ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानबाट २७ हजार ६७१ किलो फोहोर संकलन भएको थियो, जसमध्ये २ हजार ५०५ किलो फोहोर स्थानीय निकाय/समितिलाई बुझाइएको थियो ।
नकुहिने फोहोर २५ हजार १६६ किलो रिसाइकल एजेन्सीलाई हस्तान्तरण गरिएको थियो । अभियानको क्रममा धवलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथा हिमालको क्याम्प ४ (८,००० मि) मा २ गरी जम्मा ४ वटा शव फेला परेकोमा उक्त शवहरुको उचित व्यवस्थापनको लागि सम्बन्धित अधिकारीहरुलाई बुझाइएको थियो ।