बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मिटरब्याजी डीएसपी कटुवालको मान्छे फसाउने काइदा

सोमबार, भाद्र १४ २०७८

काठमाडौं  । प्रहरीका तल्लो दर्जामा रहने सहायक निरीक्षक (असइ) देखि नै सुरु हुन्छ पैसा कमाउने नयाँ काइदा  । झन् त्यसभन्दा माथिका अफिसरले के–के गरेका होलान्  ? 

प्रहरी भनेको समाजमा शान्तिसुरक्षा कायम गर्न जनसमुदायमा नजिक रही काम गर्ने र सुरक्षा प्रत्याभूति दिलाउने काममा खटिनुपर्ने हो  । तर, कमाउधन्दाका अनेक छिद्र खोज्ने प्रहरीको फेहरिस्त लामै छ  ।

पेट्रोलपम्पदेखि सुरु हुने प्रहरीको करोडौंको धन्दा आन्तरिक मात्र छैन, बाहिरी पनि उत्तिकै छ  । एउटा मिटरब्याज धन्दाका पात्र हुन् नेपाल प्रहरीका डीएसपी कवित कटुवाल  । कतैबाट थोरै पैसा जम्मा हुनासाथ अर्को बाटोबाट मिटरब्याजमा लगाउने धन्दामा कटुवालको संलग्नता खुलेको छ  । संगठनमा झट्ट हेर्दा सोझा अब्बल अफिसर मानिने कटुवालको धन्दा गज्जबकै रहेछ  ।

दरबारमार्गको ल्यान्डमार्क होटलमा व्यवाहार बिग्रिएर भागी हिँड्ने रवीन्द्रमान मल्लसँग कटुवालको कथा जोडिएको छ  । मल्लले ल्यान्डमार्क होटल बेच्न धेरै प्रयास गरे पनि विभिन्न व्यक्तिसँग बैना लिने र पचाउने काममा सक्रिय छन्  । उनै मल्ललाई चोर बाटोबाट ५ लाख रुपैयाँ ब्याजमा लगाएर अहिले डीएसपी कटुवाल विवादमा मुछिएका छन्  । 

ल्यान्डमार्क होटल बेच्न रवीन्द्रले १ सय जना जतिबाट बैना लिए पनि अहिलेसम्म होटलको लफडा सुल्झाउन नसकिएकाले अहिले भागी भागी हिँडेका छन्  । पैसाका लागि जति पनि हत्कण्डा अपनाउने मल्लसँग तेस्रो व्यक्तिमार्फत डीएसपी कटुवाल जोडिएका थिए  । उनले ५ लाख रुपैयाँ मल्ललाई दिएको स्रोतले जनाएको छ  । डीएसपी कटुवालले मिटरमा ब्याज लगाउँदा लगाउँदै २ वर्षमै ३० लाख रुपैयाँ मल्लबाट लिन हिसाब निकालेपछि मल्लले अर्को हत्कण्डा गरे  । ‘पुलिसको दबाब खेप्न सकिनँ, होटल बैना गरेमध्येबाट यो होटल तपाईंलाई नै दिने हो, डीएसपीको पैसाले मलाई गाह्रो बनायो’ भनेर होटल लिन इच्छुक पात्रसँग २० लाखको चेक काट्न लगाएका थिए  । 

चेक काटिएपछि डीएसपी केही समय थामथुम भैरहेका थिए  । पछि विवाद बढेपछि र सञ्चार माध्यममा होटलको लफडा बाहिरिएपछि मल्लले चेक कटाएका र पहिले होटल बेच्न बैना लिएका व्यक्तिलाई होटल दिन सकेनन्  । डीएसपी कटुवालले चिन्नु न जान्नु कारोबार नै नभएका व्यक्तिलाई पदको आडमा अदालत अदालतमा मुद्दा हाली नौ दिन हिरासतमा राखेको बताइन्छ  । ती व्यक्ति अहिले २० लाख धरौटी तिरेर मानसिक तनावमा छन्  । प्रहरीको बर्दी लगाएर आफू मिटरब्याजको फाइदा लिन कुनै पनि कारोबार सो चेक धन्दा केही नभएको व्यक्तिलाई फसाएर अहिले डीएसपी कटुवाल सोलुखुम्बुको इन्चार्ज भएर रजगज गरिरहेका छन्  । भनिन्छ, सोलुखुम्बु जान प्रहरीमा मोटै रकम बुझाउनुपर्छ  । ५ लाखलाई छोटो समयमै ३० लाख बनाउने र २५ लाख असुल्ने यो धन्दाबारे प्रहरी मुख्यालय भने बेखबर छैन  । कतिपय सोध्छन्, ‘यस्तो काण्ड मच्चाउने डीएसपीलाई मुख्यालयले के गर्ला ? आकर्षक पोस्टिङ नै किन दियो ?’ आजको अमुतबजार साप्ताहिकमा खबर छ l