आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

देशी-विदेशी शक्ति पैसाको झोलासहित सांसदको घरदैलो गर्दैछ :पाण्डे

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका निकट विश्वदीप पाण्डेले जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम कसरतमा रहेको खुलाएका छन्। 

उनले फेसबुकमा लेखेका छन्‌, ‘नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्‌कक काण्ड, सुरा-सुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका छन्। यो बीचमा नेपालको नदी नालामा निकै पानी बग्यो। पानी मात्रै होइन, हजारौं नेपालीको रगत र पसिना पनि बग्यो। व्यवस्था परिवर्तन गर्ने क्रान्ति र आन्दोलनहरू भए। जसले संसदीय राजनीतिमा लागेको त्यो दाग मेट्ने अपेक्षा गरिएको थियो।’

सुसंस्कृत राजनीतिमार्फत विडम्बना र बिर्सन लायक सबै काण्डलाई माथ गर्ने खालको, संसदीय राजनीतिलाई थप विकृत बनाउने कुकृत्य नेपाली राजनीतिमा पुनः हुन थालेको पाण्डेले लेखेका हुन्‌।

​सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न पनि तयार भएको आरोप लगाउँदै पाण्डेले प्रतिपक्षी दल पनि अराजनीतिक नाङ्गो नाच हेरेर आनन्द मानिरहेको भन्दै आक्रोश पोखेका छन्‌।

उनले लेखेका छन्, ‘कांग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब-करिब फुटको संघारमा पुगेको छ। हामी सकभर फुट रोक्न प्रयासरत त छौँ, तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहित गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ।’

अहिले पैसाको झोला फिर्ता गर्ने सांसद र कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको आरोप पनि पाण्डेले लगाएका छन्। जसपा फुटमा रमाउने भन्दापनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लाग्न उनले आग्रह समेत गरेका छन्। 

‘जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो। यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशक अघिको राजनैतिक कूसंस्कार थप झाङ्‌गिँदै जानेछ,’ उनले लेखेका छन्, ‘क्रान्ति र आन्दोलनमा  भएका बलिदानहरू खेर जानेछन्‌। जनताका अपेक्षाहरू धुमिल हुनेछ। त्यसकारण यसलाई बेलैमा रोकौँ, सबै सचेत बनौँ। हाम्रो पुस्ता त यस्तै भयो, कम्तिमा हुर्कँदै गरेको भावी पुस्ताको लागि सोचौँ।’