बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डको राजनीति सिध्याउन प्रधानमन्त्री ओलीको ‘२७’ खेल 

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २७ वैशाखमा संसद अधिवेशन डाकिएको छ। उनी उक्त अधिवेशनमा विश्वासको मत लिने निर्णयमा पुगेका छन्। सोही प्रयोजनका लागि नै अधिवेशन बोलाइएको राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।
ओलीले विभिन्न ज्योतिषहरूका आधारमा नै अहिले २७ को संयोगमा काम गरिरहेको बताइएको छ। उच्च स्रोतका अनुसार अध्यात्म र ज्योतिषशास्त्रमा पनि विश्वास गर्ने भएकाले अहिलेको कालखण्डमा ओली २७ को संयोगमा चलिरहेका हुन्। 
यसअघि उनले नेकपा एमालेका २७ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए। ‘राजनीति गर्नेले धार्मिक र ज्योतिषशास्त्रलाई पनि राम्रोसँग अध्ययन गरेका हुन्छन्। उनलाई दिइएको सुझावका आधारमा नै यो अंकको संयोग सुरु गरेका छन्।’
नेता माधवकुमार नेपालसहित नसच्चिनेको सांसद पद ६ महिनाका लागि खाइदिने भन्दै स्पष्टिकरण सोधेका थिए। महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक राखी आइतबार उक्त अधिकार आफूमा निहित गराउँदै ओलीले अविश्वासको प्रस्ताव ल्याउने र फ्लोर क्रस गर्ने अवस्थासम्म पुग्नुअघि नै नेपाल पक्षका सांसदलाई पदबाट हुत्याइदिने तयारी गरेका थिए। 
तर अब आफैं विश्वासको मत मागेर अगाडि बढ्न अग्रसर भएका छन्। ‘माओवादीले समर्थन फिर्ताको घोषणा नगर्ने र यहि संसदलाई कायम राख्नेगरी हिँडेपछि ओली आफैं विश्वासको मत माग्ने तरखरमा बढ्नुको पछाडि रहस्य छ’,स्रोतले भन्यो,‘उनलाई नैतिक रुपमा विश्वासको मत दिने आधार माओवादीसँग छैन। त्यो प्रचण्डले बोलीसकेका छन्। यस्तै कांग्रेस तटस्थ बस्नेछ र जसपामा विभाजन आइसकेको छ।’ 
यस्तो अवस्थामा २७ कै सांसदको जोडघटाउले प्रतिनिधि सभामा न विश्वासको मत न अविश्वासको प्रस्ताव पारित हुने अवस्था आउने आँकलन गरिएको छ। त्यसो हुँदा प्रधानमन्त्री ओलीले काम चलाऊ सरकारका आधारमा निर्वाचनमा जाने बाटो अँगाल्नेछन् र प्रतिनिधि सभा स्वतः विघटन हुने अनुमान गरिएको छ।
मुलुक चुनावतिर गए माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्यमा धक्का दिन सकिने ओलीको पूर्वानुमान छ। माओवादीको सांगठनिक संरचना नरहेको र एमालेको चुनाव चिन्ह सूर्यको लोकप्रियता भएका कारण जितेर सदनमा आउन सकिने ओलीको अपेक्षा छ। 
‘यो अपेक्षा मात्र होइन, यस पटक चुनावमा जनताले प्रचण्डलगायतको रवैया देखेका कारण नराम्रोसँग हराउन सक्ने स्वभाविक तर्क छन्’, स्रोतले भन्यो।
प्रचण्डले यहि सदनलाई निरन्तर अगाडि बढाउन चहानुको कारण भनेको शक्ति आर्जनका लागि समय लगाउन खोजेको भन्ने बालुवाटारको बुझाईले नै ओली जसरी पनि चुनावी मैदानमा मुलुकलाई लैजाने रणनीतिमा लागेका हुन्।