काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइर संक्रमण नियन्त्रण र नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार रहेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैको अफवाह र हल्लाको पछि नलागी भीडभाड नगरी आ–आफ्नो कर्तव्य निर्वाह गर्न अपील गरे ।
अवकाश प्राप्त चिकित्सकहरुलाई एक वर्षका लागि करारमा नियुक्त गरेर जनताको स्वास्थ्य उपचारमा खटाउने बताएका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई एक हजार शैय्याको अस्थायी अस्पताल बनाउन निर्देशन दिएको जानकारी दिए ।
नागरिकको जीवन रक्षाका लागि र कोरोना महामारीबाट जनताको जीवन जोगाउन सरकार लागिपरेको जानकारी दिएका उनले यसका लागि मुलुकभरका अस्पताल, ल्याब, क्वारेन्टाइन, आइसोलेसनलाई सक्रिय बनाएको र थप अस्थायी बेडहरु पनि निर्माण गर्न थालिएको बताए ।
जनताको जीवनरक्षाका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो । कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।’
वीर अस्पताल, सैनिक अस्पतालसहित मुलुकभरका धेरै शैय्या भएका अस्पताल र शिक्षण अस्पताल कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कोरोनाको उपचारमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।अक्सिजन र उपचारमा कमि आउन नदिने बताएका प्रधानमन्त्री ओलीले अक्सिजनको कालाबजारी गर्नेहरुमाथि कारबाही गर्ने बताए ।
ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने जानकारी दिएका उनले उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको बताए । हालसम्म कोरोनाबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको भन्दै उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए ।
हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाएको बताएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द पनि विज्ञहरुको सुझावअनुसार नै गरिएको बताए ।
अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने र नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । आमनागरिकलाई अनावश्यक भीडभाड नगर्न पनि प्रधानमन्त्री ओलीको अपील छ ।