लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावसँगै आगामी मुख्यमन्त्रीमा त्यहीँका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
गत साता कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिनुभएको विश्वासको मत प्रस्तावमा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर एमालेकै यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चित अवस्थालाई उल्टाइदिएका थिए । यता, लुम्बिनीमा पनि त्यहि अवस्था आउने आँकलनका साथ अविश्वास प्रस्ताव दर्ता गरिएको बताइएको छ ।
आवश्यक परे देशभरि कर्णालीको कदम चल्न सक्छ : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको र आवश्यक परे देशभरि कर्णालीको कदम चल्न सक्ने बताएका छन्। उनले भने ‘पार्टी जोगाउनका लागि, पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा त्यहाँका साथीहरूले साथ दिएका हुन्,आवश्यक परे सुदूरपश्चिमले पनि यस्तो कदम चाल्नसक्छ, पूर्वले पनि चाल्न सक्छ, देशभर त्यस्तो हुनसक्छ,’
उनले माधव नेपाल पक्ष एमाले रक्षाका लागि अगाडि बढेका योद्धा, सिपाही भएको दाबी गरे। ‘कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं,’ उनले भने। कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिऊ रोपिएको उनले बताए।
नेपाल पक्षलाई थप कडा कारबाही गर्ने ओलीको घोषणा
माधव नेपाल पक्षप्रति अनुदार हुँदै आएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थप कारबाही गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाल समूहमाथि थप कारबाही गर्ने हुने बताएका हुन्।
एमालेको दशौ महाधिवेशन आयोजक कमिटी बैठकको अध्यक्षता गर्दै ओलीले भने, ‘माधव नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैर संसदीय, अराजक हर्कत गरेका छन्। प्रचण्डको पाउमा एमाले पार्टी चढाउने काममा लागेका छन्। कांग्रेस लगायत गैर कमुनिष्टहरुको नेतृत्वमा सरकार बनाउम हामी फ्लोर क्रस गर्नेछौ यो सरकार तुरुन्त ढाल्नु पर्यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन्। अराजक अस्थिर अत्यन्त घातक देश द्रोही कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारबाही गर्नेछ।’
कणार्ली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेपाल पक्षका चार जना सांसदले फ्लोरक्रस गरेर सरकार जोगाइ दिएका छन्। देशैभर समानान्तर संगठन निर्माणमा जुटेको नेपाल पक्षको उक्त निर्णयपछि एमालेको संस्थापन पक्ष आक्रोशित भएको छ।