४ वैशाखमा अविश्वसनीय तरिकाले विश्वासको मत जुटाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेससँग मुख्यमन्त्री पद भागबण्डा गर्ने सहमति गरेको खुलेको छ । अहिले विश्वासको मत लिएपछि चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी सहमति भएको माओवादी स्रोतले जानकारी दिएको छ ।
६ महिनापछि सरकार फेरबदल गर्ने र त्यतिबेला कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रले समर्थन गर्ने सहमति जुटेको हो ।
माओवादीका एक नेताका अनुसार, दुई पार्टीबीच आलोपालो मुख्यमन्त्री हुने सहमतिपछि कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको हो । केही दिनअघि नै दुई दलबीच सहमति जुटेको भए पनि बैठक सुरु नहुँदासम्म कांग्रेसले सहमतिलाई चुहाएको थिएन । नेता जीवनबहादुर शाहीले पनि सबै सांसदसँग सहमति चुहाएका थिएनन् ।
चैत अन्तिम साता नै दुई दलबीच चुनावी सरकारको नेतृत्व कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले नेतृत्व गर्ने सहमति जुटेको थियाे । माओवादी स्रोतका अनुसार, बढीमा एक वर्षभित्र कांग्रेसका शाहीले मुख्यमन्त्री हुने गरी दुई दलबीच सहमति गरिएकाे हाे ।
एमालेका ४ सांसद निष्कासनमा परेपछि माओवादी र कांग्रेस मिल्दा मात्रै पनि कर्णाली प्रदेशमा बहुमत पुग्छ । माअोवादीका धर्मराज रेग्मी र एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको सांसद पद रिक्त भएपछि कर्णाली प्रदेशसभा ३५ सदस्यीय हुन्छ ।
त्यो हुँदा १८ सांसद हुँदा सरकार निर्माणका लागि बहुमत पुग्छ । माओवादीसँग १२ र कांग्रेससँग छ जना सांसद छन् । त्यो संख्या बहुमतका लागि पर्याप्त हुन्छ । त्यसैले उनीहरूबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति जुटेको हो ।