काठमाडौं, । समानान्तर गतिविधिलाई तीब्र बनाइरहेका नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ ।
काठमाडौं जिल्ला कमिटीको बैठकले काठमाडौं–१ मा ओमकुमारी श्रेष्ठ, २ मा रुद्र चापागाईं, ३ मा विमल अर्याल, ४ मा ध्रुवराज न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको हो । यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा आरके सेढाईं, ६ मा लक्ष्मण बिडारी, ७ मा सञ्जयराज शर्मा, ८ मा दीपक महर्जन, ९ मा ईश्वर बिडारी र १० मा बटुकृष्ण थापालाई संयोजक तोकिएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यको बैठक राखेर झलनाथ खनाल–माधव नेपाल पक्षका सबै पद र जिम्मेवारी खोसेपछि एमालेमा तीव्र विवादसँगै समानान्तर गतिविधि पनि तीब्र भएको छ ।
पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै ओलीले माधव नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यतबाट समेत निष्कासन गरिसकेका छन् । यसैका विरुद्ध नेपाल पक्षले देशव्यापी रूपमा पार्टीका अलग्गै (समानान्तर) कमिटी गठन गरिरहेको छ । नेपाल–खनाल समूहले स्वदेशमा मात्र नभई विदेशमा समेत विभिन्न समानान्तर कमिटी गठन गरिरहेको छ ।