काठमाडौ । नेकपा एमालेको ओली पक्षकै सांसदले पार्टीको निर्देशन नमान्दा कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। जसका कारण नेकपा एमालेका ओली पक्षका सांसद यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना पुरा भएन । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा एमालेका ४ सांसदले उनको पक्षमा भोट दिएपछि मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पुगेको हो ।
सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो। जसमा एक जना ओली पक्षकै सांसद थिए भने अरु तीन जना एमालेका माधव नेपाल पक्षका सांसद हुन् ।
‘प्रधानमन्त्री केपी ओली पक्षकै एकजना एमाले सांसद र माधव नेपाल पक्षका तीनजना सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका कारण शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । जसका कारण अब उनको मुख्यमन्त्री एक वर्षका लागि ढुक्क भएको छ । एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हुन्।
बुढा ओलीपक्षीय सांसद हुन्। ३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्। सो प्रदेशमा एमालेका २० (सभामुखसहित), कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्। राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो । विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए। त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो।
कारवाहीको तयारी
कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ । कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले आजै कारबाही गरिने बताएका छन् । माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । “पार्टीको ह्वीप उल्लंघन गर्नेलाई आजै कारबाहीको सिफारिस गरिनेछ,” उनले भने ।