आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओली र प्रचण्डबीच फोनवार्ता !

शुक्रबार, बैशाख ३ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुग्नुभएका प्रचण्डलाई मन्चमा बसिरहेकै बेला ओलीको फोन आएको हो । फोनमा ओलीले छिटो भेट्न प्रस्ताव गरेका स्रोतले बताएको छ ।

प्रदेश सरकार फेर्न काँग्रेस-माओवादी केन्द्रबीच सहमति जुटेको भनिएका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर भेट्न आग्रह गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीले तपाईं,म र देउवा बसेर सल्लाह गरौँ,मिलेर जाऊँ भनेर प्रस्ताव राखेपछि प्रचण्डले अहिले म राम्रोसंग नेटवर्क नटिप्ने ठाउँमा छु । पछि कुरा गरौँला भनेर फोन राखेको स्रोतले बतायो । 

ओली र प्रचण्डबीच सम्बन्ध चिसिरहेका बेला उनीहरुबीच फोन वार्ता भएको हो । गत फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एक पटक उनीहरु फोन वार्ता भएको थियो ।

त्यतिखेर ओलीले वार्ताका लागि बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले आफू नगएको सार्वजनिक कार्यक्रममै बताएका थिए । तत् पश्चात प्रधानमन्त्री ओलीले प्रचण्डमाथि खरो टिप्पणी गर्दै आएका थिए ।  प्रधानमन्त्री ओली र प्रचण्डबीच लामो समयदेखि भेटवार्ता भने हुन सकेको छैन ।