बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुरक्षाकर्मीबिनै देउवा-प्रचण्डबीच गोप्य भेट, कांग्रेसले इतिहास रच्दै

बिहिबार, बैशाख २ २०७८

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार राति गोप्य भेटवार्ता भयो । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच दिउँसो भएको भेटवार्तापछि देउवा र प्रचण्डबीच भेट भएको थियो । जसले गर्दा कतिपयले संघीय सत्ता समीकरणबारे छलफल भएको हुनसक्ने अनुमान गरे ।

तर देउवा र प्रचण्डबीच भएको गोप्य भेटको रहस्य खुलेको छ । दुवै नेताबीच गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा छलफल भएको र नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको स्रोतले जनाएको छ । नेपाल संघीयतामा गएपछि कांग्रेसले मुख्यमन्त्री बनाउन सकेको छैन । अब गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद मुख्यमन्त्री बन्ने र इतिहास रचिने लगभग पक्का भएको छ ।

सत्ता समीकरण फेरबदलको लामो रस्साकस्सीबीच राष्ट्रिय जनमोर्चा (राजमो) ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार बनाउन ३ दलबीच सहमति जुटेको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले भोलि बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउँदैछन् ।

राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधवार प्रेस वक्तव्य जारी गर्दै गण्डकी प्रदेश सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएका छन् । अविश्वास प्रस्तावको तयारीसँगै नयाँ सरकार बनाउन विपक्षी ३ पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् ।

प्रदेशसभाका कूल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपनि अविश्वास प्रस्ताव दर्ता हुनसक्छ । तर सकभर सबै जनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदहरूलाई बोलाइएको छ ।

भोलि बिहीवार अविश्वासको प्रस्ताव दर्ता हुने नेपाली कांग्रेसको वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले बताए । राजमो अध्यक्ष केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने निर्णय गरेका छन् ।

गण्डकीमा मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएर मुख्यमन्त्री कांग्रेसको हुने सहमति जुटेको छ । 

‘गण्डकीमा मुख्यमन्त्रीमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको छ,’ नेकपा माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमानले भने, ‘कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीवारै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारी हुँदैछ ।’ नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली रहेका छन् ।

गण्डकी प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद रहेका छन् । सरकार सञ्चालनका लागि ३१ सांसद आवश्यक पर्ने देखिएको छ ।