काठमाडौं । ‘म बहुमतको प्रधानमन्त्री छु । किन राजीनामा दिन्छु?’, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजधानीमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन्,‘प्रचण्डले समर्थन फिर्ता लगे हुन्छ, मलाई चाहिँदैन तिम्रो समर्थन।’
प्रतिनिधि सभा पुनःस्थापनासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिए पनि प्रधानमन्त्री ओली स्पष्ट बहुमतको सरकार नेतृत्व गरिरहेका छन्। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने समर्थन फिर्ता लिएका छैनन्।
प्रचण्डलाई समर्थन फिर्ता लिनका लागि नागरिक समाजदेखि सत्ता साझेदारका लागि वैकल्पिक समीकरणमा रहेका दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको पनि दबाब छ। तर, उनले समर्थन फिर्ता लिन सकेका छैनन्।
यसबीचमा प्रधानमन्त्री ओलीले किन यस्तो चुनौति दिए? यसका दुईवटा प्रमुख कारण रहेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएर भनेका थिए,‘अब प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेछ।’ यसको अर्थ हो, प्रतिनिधि सभा पुनःस्थापना भए पनि प्रभावकारी ढंगले अगाडि बढ्नेछैन र आगामी यात्रा चुनावतिरै हो।
सतहमा कुनै प्रभाव र संगठन रहेको माओवादी केन्द्र अहिले चुनावमा जान चहाँदैन। त्यसैले उसले आगामी दुई बर्षका लागि शक्ति आर्जन र अनेकन गठबन्धन तयारीका लागि ठाउँ खोजिरहेको छ। त्यसका लागि पनि उसले समर्थन फिर्ता नलिएको हो। समर्थन फिर्ता लिनासाथ सरकार संविधानको धारा ७६ को उपधारा ३ मा पुग्नेछ।
दलहरूबीच एमालेको विकल्पमा एक महिनाभित्र अर्को गठबन्धन तयार भई विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नआए प्रतिनिधि सभा संविधानसम्मत विघटन हुनेछ। र, प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको निर्णयको औचित्य पुष्टि हुनेछ।
यसको संकेत देखा परेरै पुष्टि भइसकेको छ। ११ फागुनमा पुनःस्थापना भए पनि प्रतिनिधि सभा राम्रोसँग चल्न नसक्नुका साथै ओलीको विकल्पमा सरकार बनेको छैन। ‘चुनावमा गएर बहुमतमा आउने र माओवादीको ग्राउन्ड चिनाउने प्रधानमन्त्री ओलीको चाहना हो’, स्रोतले भन्यो।
अर्को कारण चुनावी सरकारको बहुमतको नेतृत्व पनि आफैं गर्ने प्रधानमन्त्री ओलीको चाहना हो। समर्थन फिर्ता लिएको खण्डमा जनता समाजवादी पार्टीले ओली सरकारलाई समर्थन गरे बहुमतको सरकार दुई बर्षसम्म चलाउने र चुनाव गर्ने। यदि उक्त सरकार एक बर्ष चलेको खण्डमा नेपाली कांग्रेसँगको परामर्शमा चुनावमा जाने प्रधानमन्त्री ओलीको इच्छा छ।
त्यसरी जाँदा जनता समाजवादी पार्टीसँग मधेसमा चुनावी तालमेल र पहाडी केही जिल्लामा नेपाली कांग्रेसँगको तालमेलमा माओवादीलाई जनादेशमै सिध्याउने ओलीको राणनीति रहेको छ।
‘प्रचण्ड र माओवादी पार्टी चुनावमा धुलीसात हुन्छन् भन्ने स्पष्ट खाका छ। जसरी प्रचण्डले एमालेलाई विग्रहमा लैजाने र उपयोग गर्ने कोशीश गरे त्यो स्वाद चखाउन चहान्छन् प्रधानमन्त्री’, स्रोतले भन्यो,‘प्रचण्डको प्रयोग प्रचण्डका लागि नै गराउने तयारी हो। त्यसको कास्टिङचाहिँ रामबहादुर थापालगायतका माओवादीको धेरै नेता एमालेमा प्रवेश गराउनु पनि थियो।’