काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कानूनको नाममा राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीका एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताए ।
मधेसका आवश्यकता र समस्या स्थानीय नागरिकले नै बढी बुझ्ने भएकाले उनीहरूबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई पार्टीको केन्द्रीय योजनामा समेट्नुपर्ने उनको भनाइ थियो । पार्टीका कार्यक्रम तथा योजना जनताको वास्तविक आवश्यकतासँग जोडिनुपर्ने र मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
महामन्त्री पौडेलले कांग्रेस सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न सक्ने सम्भावना पनि औँल्याए । सरकारले विधिको शासन र कानूनी प्रक्रिया पालना नगरेको अवस्थामा आफूहरू पनि पक्राउ पर्न सक्ने सम्भावना रहेको उनले बताए ।
सभापति थापाबारे एक बिचौलियाले दिएको भनिएको बयानमाथि प्रश्न उठाउँदै पौडेलले सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा दर्ता गर्न यति ढिलाइ नगर्ने तर्क गरे ।
कसैलाई कारबाही गर्ने नाममा कानूनविपरीत व्यक्तिको मानमर्दन गर्न नहुने उल्लेख गर्दै उनले पक्राउ र दबाबबाट कांग्रेसको आवाज रोक्न नसकिने बताए ।
उनले भने, ‘हाम्रो योजना र कार्यक्रम यस क्षेत्रका वास्तविक आवश्यकता, समस्या र जनताको अपेक्षासँग जोडिनुपर्छ । यस भूमिलाई नजिकबाट बुझ्ने स्थानीय साथीहरूले उठाएका मुद्दालाई समेटेर मधेसका समस्या र आवश्यकतालाई नेपाली कांग्रेसको केन्द्रीय एजेण्डा बनाउनुपर्छ । जहाँसम्म पार्टी सभापतिको पक्राउको विषय छ, हामी विधिको शासन र कानूनी प्रक्रियाको सम्मान गर्छौँ । तर कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन । कुनै पनि आरोपको निष्पक्ष छानबिन र कानूनी प्रक्रियाबाट निरूपण हुनुपर्छ ।’
दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरीत रहेको पौडेलले बताए । सरकारका गलत काम, अन्याय र विधिको उल्लंघनविरुद्ध आवाज उठाउनु प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइ थियो ।
बहुमतका नाममा सरकारको आलोचना गर्नेहरूमा डर र त्रास सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले कांग्रेस सरकारका गतिविधिविरुद्ध बोल्न पछि नहट्ने स्पष्ट पारे ।
कांग्रेसमाथि भइरहेको व्यवहार पनि सरकारको यही प्रवृत्तिको परिणाम भएको टिप्पणी गर्दै पौडेलले कानूनी शासन, लोकतान्त्रिक मूल्य र जनताको अधिकारका पक्षमा पार्टीले निरन्तर आवाज उठाइरहने बताए ।