काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेल दिउँसो १२ बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । त्यस्तै, दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुनेछ ।
समान आठ अंक जोडेको काठमाडौं र सुदूरपश्चिम क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । आजको खेल जित्ने टोलीले शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
यता जनकपुर र चितवनलाई पनि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । पाँच खेलबाट पाँच अंक जोडेको चितवनसँग लिग चरणका दुई खेल बाँकी छन् । त्यसैले प्लेअफमा पुग्ने सम्भावना कायम राख्न उसलाई बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ ।
त्यस्तै, पाँच खेलबाट चार अंक मात्रै जोडेको जनकपुरले आज जित हासिल गरेमा छ अंक पुग्नेछ । तर प्लेअफमा स्थान बनाउन जनकपुरले आफ्नो खेल जित्नुका साथै अन्य टोलीको नतिजामा समेत निर्भर रहनुपर्नेछ ।