विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बुको शव बिहीबार साँझ घरदेखि करिब एक किलोमिटर टाढाको जंगलमा फेला परेको हो ।
स्थानीयले जंगलभित्र अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार मृतक लिम्बुको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
स्थानीयका अनुसार विवाहित लिम्बु र उनका पतिबीच पटकपटक विवाद तथा झैझगडा हुने गरेको थियो ।
घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको प्रहरी उपरीक्षक कटवालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।