जनकपुर । सूर्य उपासनाको महापर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्दैछन् ।
छठपर्वको पहिलो दिन व्रतालुले नदी, पोखरी तथा जलाशयमा स्नान गरी व्रतको सङ्कल्प लिने र शुद्ध तथा सात्त्विक भोजन गर्ने परम्परा छ । मिथिला क्षेत्रमा यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।
पर्वको दोस्रो दिन भोलि व्रतालुले दिनभरि निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको अरवा चामलको खिर कुलदेवता र छठीदेवीलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्नेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।
त्यसपछि तेस्रो दिन व्रतालुले निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा अन्य जलाशयमा बनाइएका घाटमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । यस विधिलाई ‘सन्ध्या अर्घ्य’, ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।
पर्वको अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले प्रसाद ग्रहण गरी व्रत समापन गर्नेछन् । यस विधिलाई ‘पारन’ भनिन्छ ।
छठपर्व विशेषगरी मिथिला र तराई क्षेत्रमा श्रद्धा तथा भक्तिपूर्वक मनाइने पर्व भए पनि पछिल्लो समय यसको विस्तार देशभर भएको छ । पहाड र हिमाली क्षेत्रका विभिन्न जिल्लामा समेत छठ मनाउन थालिएको छ । काठमाडौं उपत्यकाका नदी, पोखरी तथा जलाशयमा पनि छठका अवसरमा भव्य घाट निर्माण गरी पूजा गर्ने परम्परा विस्तार हुँदै गएको छ ।
नेपालमा मात्रै नभई अमेरिका, अस्ट्रेलिया, बेलायत तथा युरोपका विभिन्न मुलुकमा समेत नेपाली समुदायले छठपर्व मनाउँदै आएका छन् । यसले छठलाई क्षेत्रीय पर्वबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बोकेको सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ ।
छठपर्व प्रकृति र वातावरण संरक्षणसँग पनि जोडिएको छ । यस पर्वमा सूर्यको उपासना गर्नुका साथै नदी, पोखरी तथा जलाशयको सरसफाइ र शुद्धतामा विशेष ध्यान दिइन्छ । पूजामा प्रयोग गरिने उखु, फलफूल तथा विभिन्न कृषि उपजले प्रकृतिप्रतिको सम्मान र कृषि संस्कृतिको महत्त्वसमेत झल्काउँछन् ।
सूर्यलाई जीवन र ऊर्जाको स्रोतका रूपमा पूजा गरिने यस पर्वले श्रद्धा, अनुशासन, पवित्रता, सामाजिक सद्भाव र प्रकृति संरक्षणको सन्देश दिने विश्वास गरिन्छ ।