सर्लाही । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो ।
घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार गाउँपालिका क्षेत्रभर शोक बिदासमेत दिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा बिहीबार जारी सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाबाहेक नियमित सेवा प्रवाह गर्ने कार्यालय तथा सामुदायिक र संस्थागत विद्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।
त्यस्तै, गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा पनि शोक बिदा लागू हुने सूचनामा उल्लेख छ ।
शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।