बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

महिलाको हत्या र सुन लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

बुधबार, कार्तिक १८ २०८३

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्या गरी सुन लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोदकुमार कुर्मी, सोही वडाको बोगडीका २६ वर्षीय मन्जे हरिजन र मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–५ छोटकी मझगाँवाकी ४१ वर्षीया जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्यामा उनीहरूको संलग्नता रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार गत कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा जुबेदाको हत्या भएको थियो ।

उनलाई टाउकोमा कोदालोको बिँडले प्रहार गरी घाँटीमा हँसिया रोपेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि उनको कानमा रहेका सुनका गरगहनासमेत लुटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतबाट ज्यान, करणी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए ।